👨🏫 Expert Guide by Dr. Bibek Tamang
Stop Translating 'तपाईं' as '당신' (Dangsin) in Korean!
कुनै पनि भाषामा आफूले कुरा गर्दै गरेको दोस्रो व्यक्तिलाई सम्बोधन गर्न विभिन्न प्रकारका शब्दहरू हुन्छन्। नेपाली भाषामा 'तँ, तिमी, तपाईं, हजुर' भए झैँ अंग्रेजी भाषामा 'You' भनेर दोस्रो व्यक्तिलाई सम्बोधन गरिन्छ। त्यसैगरी कोरियन भाषामा पनि '너, 당신' जस्ता शब्दहरू छन्।
सामान्यतया नेपालका धेरै इन्स्टिच्युटहरूमा "आफूभन्दा मान्यजनहरूलाई आदर सम्मान गरेर 'तपाईं' भन्नलाई '당신' (Dangsin) शब्दको प्रयोग गर्नुस्" भनेर पठनपाठन गराएको पाइएको छ। तर, यो एकदमै गलत हो!
The Reality of Using '당신' in South Korea
यदि कोरियामा केही समय बिताएर कोरियनहरूसँग बोलीचाली गरेको जो कोहीलाई सोध्नुभयो भने, उनीहरूले सजिलैसँग भन्छन्: '당신' शब्दले आदरार्थी 'तपाईं' जनाउँदैन!
हामीले LKWB को टिकटकमा "당신 ले तपाईं जनाउँदैन!" भन्ने भिडियो बनाएका थियौँ। त्यसमा EPS पास गरेर कोरिया गइसकेका हाम्रा साथीहरूले गरेका केही वास्तबिक कमेन्टहरू हेरौँ:
"सर, मैले यहाँ मेरो साहुलाई 당신 भनेको थिएँ। 'कहाँबाट सिकिस् यस्तो भाषा?' भनेर पो भन्यो मलाई त! 당신 शब्द त आदर गर्दा प्रयोग गरिने शब्द होइन रहेछ।"
"सर, मैले मेरो साहुलाई 당신 भनेको थिएँ, बुढाले त मलाई 'जा गएर तरुनीलाई भन् त्यस्तो शब्द' भनेर भन्यो। खासमा आदर गरेर भन्दा कुन शब्द प्रयोग गर्ने हो सर? प्लिज बताइदिनु न।"
यी भोगाइहरूबाट प्रष्ट हुन्छ कि '당신' शब्दले तपाईंले सोचेजस्तो आदर जनाउँदैन।
What Does '당신' Actually Mean? (Dictionary Definition)
कोरियन भाषाको शब्दकोष अनुसार '당신' को अर्थ यस्तो हुन्छ:
- हाओ (하오) शैलीमा: सुन्ने व्यक्तिलाई जनाउने द्वितीय पुरुष सर्वनाम।
- श्रीमान-श्रीमती बीच: दम्पतीले एकअर्कालाई आदर गरेर बोलाउँदा प्रयोग गरिने सर्वनाम (अर्थात् 'My Dear' वा 'Honey')।
- लिखित भाषामा (문어체): दोस्रो व्यक्तिलाई उच्च आदर गर्दा प्रयोग गरिने सर्वनाम।
आजकल परिभाषा नं. २ को प्रयोग सबैभन्दा धेरै हुन्छ। अर्थात्, श्रीमान-श्रीमतीले मायाले एकअर्कालाई बोलाउँदा '당신' प्रयोग गर्छन्।
यसबाहेक, अपरिचित व्यक्तिसँग झैझगडा पर्दा पनि यसको प्रयोग हुन्छ। उदाहरणको लागि, बाटोमा दुईवटा गाडी ठोक्किएर भनाभन हुँदा कोरियनहरू भन्छन्: "당신 잘못이잖아요!" (तपाईंको गल्ती हो नि त!)। यस्तो बेलामा यो शब्दले आदर होइन, आक्रोश जनाउँछ।
The Correct Way to Say "You" in Korean
त्यसो भए दोस्रो व्यक्तिलाई आदर गर्दा के भनेर सम्बोधन गर्ने त?
कोरियन भाषामा दोस्रो व्यक्तिलाई सम्बोधन गर्दा सामान्यतया 'तपाईं' जस्ता सर्वनामको प्रयोग गरिँदैन। सर्वनामको सट्टामा सम्बोधन गर्नुपर्ने व्यक्तिसँगको आफ्नो सम्बन्ध वा उनीहरूको पद (Title) को प्रयोग गरिन्छ। र, त्यो पदको पछाडि '님' (Nim) थपेर उच्च आदर दर्शाइन्छ।
पद र ओहोदाहरू (Job Titles):
- 사장님 (साहुजी / Boss)
- 부장님 (म्यानेजर / Department Head)
- 과장님 (सेक्सन चिफ / Section Manager)
- 대리님 (डेपुटी म्यानेजर / Deputy Manager)
- 교수님 (प्रोफेसर / Professor)
- 선생님 (शिक्षक / Teacher)
नाता र सम्बन्ध (Relationships): कोरियामा आफ्नै दाजुभाइ वा दिदीबहिनी नभए पनि आत्मीयता देखाउन उमेरमा आफूभन्दा ठूलालाई दाजु/दिदी भनेर सम्बोधन गरिन्छ:
- 형 / 오빠 (दाई)
- 누나 / 언니 (दिदी)
- 이모 (अन्टी)
- 할아버지 / 할머니 (हजुरबुवा / हजुरआमा)
उदाहरण हेरौँ: आफ्नो साहुलाई "तपाईं कफी खानुहुन्छ?" भनेर सोध्नुपर्दा: ❌ गलत: "당신은 커피 드시겠어요?" ✅ सही: "사장님은 커피 드시겠어요?"
आफ्नो दाइलाई "तपाईंलाई के मन पर्छ?" भनेर सोध्नुपर्दा: ❌ गलत: "당신은 뭐 좋아해요?" ✅ सही: "형은 (वा 오빠는) 뭐 좋아해요?"
Why Koreans Ask Your Age on the First Meeting
कोही व्यक्तिसँग पहिलो भेट हुँदा कोरियनहरूले प्रायः सोध्छन्: "몇 살이야?" वा "나이가 어떻게 돼?" (उमेर कति भयो?)
यसरी उमेर सोध्नुको कारण को ठूलो र को सानो हो भनेर जान्नको लागि हो। उमेर थाहा पाएपछि मात्र उनीहरूले आदरार्थी भाषा (존댓말) प्रयोग गर्ने कि ठाडो भाषा (반말) प्रयोग गर्ने भन्ने तय गर्छन्। त्यसैले पहिलो भेटमै उमेर सोधे भने आश्चर्य नमान्नुहोस्!
What If You Don't Know Their Title or Age?
यदि पहिलो भेटमा त्यो व्यक्तिको ओहोदा पनि थाहा भएन र सम्बन्ध पनि स्पष्ट छुट्याउन सकिएन भने, सिधै यसरी सोध्नुहोस्:
"제가 뭐라고 부르면 돼요?" (मैले के भनेर बोलाउँदा हुन्छ?)
त्यसपछि उनीहरूले जे भनेर सम्बोधन गर्न भन्छन्, त्यही शब्द प्रयोग गर्नुहोस्। जस्तै, यदि उनीहरूले "너는 나이가 너무 어려서 삼촌이라고 해" (तेरो उमेर एकदम कम भएकोले मलाई काका भन्) भने भने, त्यसपछि सधैँ '삼촌' भनेर सम्बोधन गर्नुहोस्।
निष्कर्ष (Conclusion): कोरियामा 'तपाईं' जस्ता सर्वनामको सट्टामा सधैँ त्यो व्यक्तिको ओहोदा (Title) वा सम्बन्ध (Relationship) जनाउने शब्दको प्रयोग गर्नुहोस्। कोरियन भाषाको यस्तै व्यावहारिक र सही ज्ञानको लागि LKWB सँग जोडिनुहोस्!


